इन्धन: ८ महिनामा ९ पटक मूल्यवृद्धि

काठमाण्डौ ,असोज १८ । 

वर्षमा एक अर्बको चुहावटलाई वैधानिक मान्यता, प्रशासनिक खर्च पनि अनियन्त्रित, पछिल्लो अढाइ महिनामा एक अर्ब घाटा संसद्को दुईतिहाइ मतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ८ महिनामा पूरा भयो । यस अवधिमा पेट्रोलियम पदार्थको मूल्य १० पटक समायोजन भएको छ । यसमध्ये ९ पटक आयल निगमले मूल्य बढाएको छ ।१० पटकको समायोजनमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एकपटक मात्रै घटेको छ भने ९ पटक बढेको छ । खाना पकाउने ग्यासको मूल्य ९ पटक स्थिर रह्यो भने एकपटक बढेको छ । आन्तरिक र बाह्य हवाई इन्धनको मूल्य पनि एकपटक बढेको छ ।२० फागुन ०७४ मा प्रतिलिटर १०३ रुपैयाँ रहेको पेट्रोलको मूल्य ११ रुपैयाँ बढेर अहिले ११४ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँबाट १०१ रुपैयाँ पुगेको छ । यी दुवैमा प्रतिलिटर १६ रुपैयाँ वृद्धि भएको हो ।१३७५ रुपैयाँ प्रतिसिलिन्डर पाइने गरेको ग्यासको मूल्य १ असोजदेखि बढेर १४०० पुगेको छ । आन्तरिक हवाई इन्धन १९ जेठदेखि प्रतिलिटर ५ रुपैयाँ बढेर सय रुपैयाँ कायम छ । बाह्य हवाई इन्धन पनि सोही मितिबाट प्रतिकिलोलिटर ७५ डलरका दरले बढेर एक हजार ७५ डलर पुगेको छ ।

तेल चोर्न नमिल्ने लकिङ जडान

बीचबाटोमै तेल चोरी हुने क्रम बढेपछि निगमले सबै ट्यांकरमा आधुनिक लकिङ प्रणाली जडान गरेको छ । १ चैतबाट सुरु गरिएको अभियानअन्तर्गत आइओसीको डिपोदेखि निगमको डिपोसम्म तेल ओसार्न ट्यांकरमा लकिङ जडान भइसकेको छ ।

अब दोस्रो चरणमा निगमको डिपोदेखि पेट्रोलपम्पसम्म तेल ओसार्ने ट्यांकरमा लकिङ लगाउने प्रवक्ता गोइतले बताए । उनले भने, ‘लकिङ सिस्टमबाट निगमको प्राविधिक नोक्सानीमा उल्लेख्य सुधार भएको छ । चालक, ढुवानीकर्ता र निगमका कर्मचारीलाई तेल अपचलनको आक्षेपबाट समेत मुक्त हुने स्थिति देखिन्छ ।’

कच्चा तेलकै मूल्य बढेपछि नेपालमा पनि असर परेको हो: सुशील भट्टराई निमित्त प्रबन्ध निर्देश, नेपाल आयल निगम

डलर वृद्धि भएका कारणले मात्रै पेट्रोलियम पदार्थको मूल्य महँगो भएको होइन, अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्य बढ्दा नेपालमा असर देखिएको हो । पछिल्लो १५–२० दिनमा ८ प्रतिशतले कच्चा तेलको भाउ बढेको छ । १ सेप्टेम्बर (१६ भदौ)मा ७७ डलर प्रतिब्यारेल रहेको कच्चा तेलको मूल्य अहिले बढेर ८४ डलर प्रतिव्यारेल पुगेको छ ।

डलरसँगको विनिमयदर एक रुपैयाँले वृद्धि हुँदा निगमलाई एक महिनामा १६ करोड नोक्सान हुन्छ । त्यसैगरी प्रतिव्यारेल एक डलर कच्चा तेलको भाउ बढ्यो भने निगमलाई प्रतिमहिना १७ करोड भार पर्छ ।

वर्षमा एक अर्बको तेल चुहावट

कुल कारोबारको ०.५ प्रतिशत इन्धन चुहावट हुने गरेको निगमको तथ्यांक छ । गत आर्थिक वर्ष निगमले २ खर्बको कारोबार गरेको थियो । ट्यांकर, डिपो र पेट्रोलपम्पबाट हुने वार्षिक एक अर्बको वैधानिक चुहावटबाहेक पनि थप चुहावट हुन्छ, जसको लेखाजोखा छैन ।

-निगमको भण्डारणगृहबाटै प्राविधिक तथा तापक्रमका कारण नोक्सानी हुने गरेको छ । ८ वटा इन्धन डिपोमा राखिएको पेट्रोल ०.५७ प्रतिशतदेखि ०.९० प्रतिशतसम्म चुहावट हुने निगम बताउँछ । डिजेल र मट्टीतेल ०.३२ देखि ०.६२ प्रतिशतसम्म, हवाई इन्धन ०.१० देखि ०.६२ प्रतिशतसम्म चुहावट हुने निर्धारण निगमले गरेको छ ।

-निगमले पेट्रोलपम्पलाई समेत चुहावट हुने लक्ष्य निर्धारण गरिदिएको छ । डिपोबाट पम्पसम्म लोड, अनलोड गर्दा पेट्रोलमा तापक्रमबापत ०.५० प्रतिशत र कार्यगततर्फ ०.३० प्रतिशत गरी ०.८० प्रतिशत चुहावट हुने लक्ष्यसहित भर्पाई दिने गरेको छ । डिजेल र मट्टीतेलमा तापक्रमबापत ०.३० प्रतिशत र कार्यगत ०.२५ गरी ०.५५ प्रतिशत नोक्सान दर निर्धारण गरेको छ ।

-आइओसीबाट निगमको डिपोसम्म तेल ओसार्दासमेत चुहावट हुने गरेको छ । पेट्रोलियम तातो ठाउँबाट चिसोमा ढुवानी हुँदा घट्ने र चिसोबाट तातोमा ढुवानी हुँदा बढ्ने गर्छ । नेपालभन्दा भारतको तापक्रम बढी भएकाले त्यहाँबाट ल्याएको इन्धन घट्ने गर्छ ।

आइओसीको डिपोबाट निगमको डिपोमा तेल ल्याउँदा प्रतिहजार लिटर पेट्रोल प्रतिडिग्री तापक्रममा १.०६ लिटर तथा डिजेल र मट्टीतेल ०.७५ लिटर घट्ने सूत्र तयार गरेको छ । जसकारण १२ हजार किलोलिटरको ट्यांकरमा पेट्रोल ल्याउँदा ७ डिग्री तापक्रम कम भए करिब ९० लिटर मात्रा घट्छ ।

घाटा खाएर बेचेका छौँ, एक महिनामा निगमलाई थप एक अर्ब नोक्सान हुँदै छ: मातृका यादव, आपूर्तिमन्त्री

अहिले भारतमा पेट्रोल र डिजेलको मूल्य नेपालमा भन्दा प्रतिलिटर ३१ रुपैयाँ महँगो छ । अन्तर्राष्ट्रिय बजारमै भाउ बढेको छ । आफ्नो उत्पादन नभएपछि यस्तै हो । भर्खरै भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार यहाँ मूल्य समायोजन नगर्दा निगमलाई आगामी एक महिनामा थप एक अर्ब घाटा हुने देखिन्छ । दसैँलाई पनि हेरेर मूल्य समायोजन कसरी गर्ने भन्नेबारे छलफल गरिरहेका छौँ । प्रधानमन्त्रीज्यू विदेशबाट फर्केपछि निर्णय लिन्छौँ ।

मूल्य बढाउँदै बेच्दा पनि अढाइ महिनामा निगमलाई एक अर्ब घाटा

नेपाल आयल निगम (एनओसी)ले चालू आर्थिक वर्ष ०७५/७६ को साढे दुई महिनामा ४० अर्बको पेट्रोलियम कारोबार गरेको छ । ४० अर्बको कारोबारमा निगमले एक अर्ब रुपैयाँ घाटा देखाएको छ । साउन, भदौ र मध्य असोजसम्म ४० अर्बभन्दा बढी कारोबार गर्दा ३० अर्ब रुपैयाँ भारतीय आयल कर्पाेरेसन (आइओसी)लाई भुक्तानी दिएको छ ।

यस अवधिमा एक अर्ब रुपैयाँ बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि संकलन गरेको र कुल झन्डै १२ अर्ब राजस्व तिरेको निगमका निमित्त नायब प्रबन्ध–निर्देशक नागेन्द्र साहले बताए ।

उनका अनुसार ४० अर्बको कारोबार गर्दा निगमलाई एक अर्ब घाटा भएको छ । आइओसीले पठाएको मूल्यअनुसार समायोजन नगर्दा घाटा बढिरहेको उनको भनाइ छ ।

‘पछिल्ला महिना लगातार नोक्सानमा पेट्रोलियम पदार्थ बिक्री गर्दा निगमको घाटा चुलिएको हो,’ साहले भने । १५ असोजमा आइओसीले निगमलाई नयाँ मूल्य पठाए पनि बारम्बार मूल्यवृद्धिको चर्को विरोध भएपछि मूल्य समायोजन गरिएको छैन । यसको असर अबको १५ दिनमा ६४ करोड ५७ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण निगमको छ ।

मूल्यवृद्धिका चार कारण

-अनियन्त्रित प्रशासनिक खर्च

सामान्यतया कारोबार रकम बढेपछि प्रशासनिक खर्चबापतको रकम कटौती दर घट्ने गर्छ । तर, निगमले प्रशासनिक खर्चबापतको रकम बढाइरहेको छ । दुई वर्षअघि कुल कारोबारको ०.५० प्रतिशत प्रशासनिक खर्च राखिएको थियो । अहिले बढाएर ०.६० प्रतिशत पुर्‍याएको छ ।

यो रकम वार्षिक १ अर्ब २० करोड रुपैयाँ हुन आउँछ । ०६८ मा तत्कालीन सांसद भीम आचार्यको योजकत्वमा गठित उच्चस्तरीय समितिले निगमलाई प्रशासनिक खर्चको दर घटाउँदै लैजान सुझाब दिएको थियो । तर, त्यसको पालना भएको छैन ।

-चुहावट नियन्त्रणमा निगमको उदासीनता

अहिले कुल कारोबारको ०.५ प्रतिशत इन्धन चुहावट हुने गरेको छ । गत आर्थिक वर्ष ०७४/७५ मा निगमले २ खर्बको कारोबार गरेको थियो । यस आधारमा वार्षिक एक अर्बको इन्धन चुहावट हुने गरेको देखिन्छ । वैधानिक चुहावट नै यति धेरै हुन्छ । त्यसबाहेकको चुहावटको लेखाजोखा छैन । तैपनि, चुहावट नियन्त्रण गर्न सार्थक पहल भएको छैन ।

-अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि

एक वर्षयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागेको छ । मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८४.८० डलर प्रतिब्यारेल पुगेको छ । डेढ महिनाअघि ७५ डलरआसपास थियो । कच्चा तेलको अन्तर्राष्ट्रिय भाउको १५ दिनको औसत मूल्य निर्धारण गरेर आइओसीले निगमलाई नयाँ बिक्रीदर पठाउने गर्छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढेको तथा डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएका कारण आइओसीले पठाउने नयाँ खरिद दर पछिल्लो समय बढ्ने गरेको छ । त्यसैले नेपाली बजारमा पनि इन्धनको मूल्यवृद्धि गर्नुपर्ने बाध्यता छ ।’

-भारतमा महँगो हुँदा ट्यांकरबाटै तस्करी

भारतमा भन्दा नेपालमा इन्धन सस्तो छ । त्यसैले बोर्डरछेउमा रहेका पम्पमा भारतीय गाडी आएर तेल भर्ने गरेका छन् । कतिपय ट्यांकरले त निगमको डिपोमा नल्याई भारतमै तेल बेचिदिन्छन् । अहिले भारतमा भन्दा नेपालमा पेट्रोल ३१ रुपैयाँ ७५ पैसा तथा डिजेल र मट्टीतेल ३० रुपैयाँ १६ पैसा सस्तो छ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई मूल्य थप घटाउँदा भारततर्फ इन्धन तस्करी बढ्ने तर्क गर्छन् । ‘अहिलेको मूल्यमा त चर्को रूपमा भारततर्फ इन्धन गइरहेको छ । अर्कातिर अन्तर्राष्ट्रिय भाउ बढ्दा निगमलाई नोक्सानी बढिरहेको छ । यी दुई कारणले गर्दा मूल्य घटाउनेभन्दा बढाउनेतर्फ हामी केन्द्रित छौँ ।’
नयाँ पत्रिकाबाट  साभार 

प्रतिकृया दिनुहोस

दुई महिनाको कर संकलनबाट सुदुरपश्चिम प्रदेश सरकार उत्साही

धनगढी ,असोज २१।  सुदूरपश्चिम प्रदेशमा सरकारले चालु आ .ब को दुई महिनामा झण्डै १० करोड राजस्व / कर संकलन गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक

अत्तरिया उधोग बाणीज्य संघको साधारण सभा शुरु ,मतदान दिउंसो १ बजेबाट शुरु हुने

अत्तरिया ,असोज १२ ।  अत्तरिया उधोग बाणिज्य संघको दोस्रो  साधारण सभा अत्तरियामा शुरु भएको छ । बिहान सम्पन्न उदघाटन सत्रको एक कार्यक्रमका बिच

अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी शुक्रबार निर्बाचन हुने

अत्तरिया ,असोज ११ ।  धेरै छलफल र रस्साकस्सी पछि अत्तरिया उधोग बाणिज्य संघको निर्बाचन असोज १२ गते नै हुने भएको छ । केही दिन यता १२ गते साधारण सभा र सोही